Sunday, March 1, 2015

आज मलाई मन पर्यो --२१



किरात संस्कृति : एक चर्चा
सरणकुमार राई
१. किरात जाति ः इतिहास र वर्तमान
किरात जाति लामो इतिहास भएको जाति हो । इतिहासका विभिन्न कालखण्डमा किरात जातिलाई हेर्ने र बुझ्ने भिन्न भिन्न धारणा विकास भएको पाइन्छ ।
१.१ किरात शब्दको अर्थ
सामान्य अर्थमा ‘किरात’ भन्नाले नेपालमा बसोवास गर्ने सम्पूर्ण मङ्गोलियन जातिहरू, भारतको सिक्किम, दार्जिलिङ ,नागाल्याण्ड, आसाम, पञ्जाब आदिका सम्पूर्ण आदिवासी जातिहरू तथा भूटान र बर्माका मङ्गोलियन नश्लका मानव समूहलाई समेटिन्छ । मानवशास्त्री सुनीतिकुमार चटर्जीका अनुसार भोट–बर्मेली भाषा परिवारका भाषा बोल्नेहरू किरात हुन् । इतिहासविद् जी. पी. सिंहले नेपालका राई, लिम्बू, याक्खा, सुनुवार, धिमाल, तामाङ, लेप्चा, कोचे, मेचे, राजवंशी, थारु, दनुवार, जिरेल, सुरेल, थामी, हायु, राजी, मगर, गुरुङ, र नेवारलाई किरात भनेका छन् ।
अङ्ग्रेज विद्वान्हरू भ्यान्सिटार्ट, कर्कप्याट्रिक र हड्सनले राई, लिम्बू, याक्खा, सुनुवार, दनुवार, सुरेल, जिरेल, थामी र हायुलाई किरात मानेका छन् भने सोभियत खोजकर्ता डा. सेटेन्कोले राई, लिम्बू, याक्खा, सुनुवार, सुरेल, जिरेल, थामी, हायु, दनुवार र धिमाललाई किरात भनेर किटानी गरेका छन् (किरात राई यायोक्खा, २०६४)। समाजशास्त्री डोरबहादुर बिष्टका अनुसार मातृभाषाका रूपमा तिब्बतबर्मेली भाषा परिवारका भाषा बोल्ने राई, लिम्बू, याक्खा, सुनुवार, जिरेल, हायु, गुरुङ, मगर, थकाली, थामी, चेपाङ, थारु, दनुवार, भोटे, माझी, धिमाल, मेचे, कोचे र उपत्यकाका नेवारहरू किरात हुन् (डोरबहादुर, २०५२)। राई (२०६८) त समाजशास्त्रीय÷मानवशास्त्रीय अवधारणामा नेपालका सबै आदिवासीहरू किराती हुन् दाबी समेत गर्दछन् ।
१.२. किरात जातिको ऐतिहासिक पृष्ठभूमि
किरात जातिको चर्चा गर्नासाथ ऋग्वैदिक साहित्यको स्मरण हुन्छ । हिन्दुकुश पार गरेर तलतिर झरेका आर्यहरू जब सप्तसिन्धुमा फैलिए, त्यस समय उनीहरूको संघर्ष किरात जातिसँग पनि भएको थियो । किरात जातिको निवास ‘त्रिगर्त’ अर्थात भारतको काँगडा उपत्यका थियो र यिनका नेतालाई ‘सम्बर’ भनिन्थ्यो । ऋग्वेदमा सोझै किरातको नाम त आउँदैन तर सम्बरको नाम बारम्बार आउँछ । जनक लाल शर्मा (२०३९) ले त्रिगर्त अर्थात् काँगडा उपत्यकामा किरात जातिका अनेक अश्वमयी किल्ला रहेको र ती किल्लामध्ये ९९ किल्ला आर्यहरूले लुटेर लिएको वर्णन ऋग्वेदको छैंटौं मण्डलको सतचालिसौं सूक्तको दोस्रो, एक्काइसौँ र बाइसौँ मन्त्रमा स्पष्टसँग उल्लेख भएको जानकारी दिएका छन् । प्रपन्नाचार्य (२०५१ ः १) पनि भन्छन्— ऋग्वेदको दशौं मण्डललाई किरातहरूसँग सम्बन्ध नजोडे मन्त्रको सङ्गतीकरणै हुँदैन भने किरातहरू ऋग्वेद कालमा थिएनन् भन्नु अबुझ कुरा हुन्छ । उनी प्राचीन कालमा किरात जाति मङ्गोलिया लगायत सम्पूर्ण एसियाभरि पैmलिएको अनुमान पनि गर्दछन् ।
कतिपय इतिहासकारले विश्वको दोस्रो ठूलो धर्म बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध नै किरात कुलका दिपक रहेको अनुमान गरेका छन् । साथै भारतीय दर्शन, कला र संस्कृतिका धेरै पक्षमा किरात सभयताको छाप परेको अनुमान गरेका छन् । प्राग् ऐतिहासिक भारत किरात संस्कृतिको झण्डा बोकेर ऐतिहासिक युगमा पदार्पण गरेको विश्वास गरिन्छ र हिन्दु धर्मका अधिकांश आधारशीला किरातहरूले खडा गरि दिएको अनुमान समेत गरिन्छ (रामचन्द्र, २०६४,४) । ऋग्वेदमा उल्लेख गरिएका कतिपय ऋचा र मन्त्र किरातहरूको ऋसिया र मुन्धुमसँग मिल्ने हुँदा उपर्युक्त अनुमानले बल प्राप्त गर्दछ ।
१.३. प्राचीन कालमा किरात जाति
नेपालमा पाइने पुराना वंशावलीमा लिच्छविहरूको प्रवेशभन्दा पहिले काठमाडौँ उपत्यकामा किरातहरूको राज्य थियो भन्ने उल्लेख पाइन्छ । कर्कपेट्रिक महोदयले आफ्नो पुस्तकमा किरातहरूको वंशावली दिएका छन् जसमा २७ राजाको नाम उल्लेख भएको छ । यसमा पहिलो राजा येलुङ छन् भने अन्तिम राजाको नाम गलिजङ्ग देखिन्छ । अर्का विद्वान् राइटको पुस्तकमा दिएको वंशावलिमा २९ राजाको नाम आउँछ । राइटका अनुसार पहिला राजा यलम्बर हुन् भने अन्तिम राजाको नाम गस्ती देखिन्छ (जनकलाल,२०३९)।
प्राचीन समयमा किरात देश अथवा नेपाल विशाल थियो । मेरुतन्त्रर हिमवत् खण्ड आदिको अध्ययनबाट प्राचीन समयमा वर्तमान भारत पनि किरातदेशकै अङ्गका रूपमा थियो बुझिन्छ । । मेरुतन्त्र र हिमवतखण्ड अनुसार चीनदेश संभवत वर्तमान हिन्दचीन (लाओस, कम्बोडिया र भियतनाम), महाचीन (संभवत वर्तमान चीन) को मध्यभाग (तिब्बत र मध्यएशिया तर्फको क्षेत्र), नागदेश आदि पनि किरातदेश भित्रै पर्दथ्यो (रामचन्द्र,२०६४,४)। किरातहरूको लहरा खोज्दै जाने हो भने व्यापक रूपमा लहरिएको बुझिन्छ । किरातकै एउटा शाखा हंगेरीमा मगियार जातिको रूपमा रहेको मानिन्छ र ग्रिनलैण्डका एस्किमोहरूलाई पनि किरात अवशेषका रूपमा लिइन्छ (रामचन्द्र,२०६४,६)।
हडसनले पहिलेको किरात देश गङ्गादेखि आसामसम्म रहेको बताएका छन् । नेपालको सुनकोशीको उत्तर–पूर्व अरुण–तमोर क्षेत्रमा नागा जातिको बसोबास भएको प्रमाण भेटिन्छ र नागाहरू पनि किरात जाति मानिन्छन् (भूमि,२०६६,२०) । समयान्तरमा किरातदेश टुक्रिदै जाँदा अनेक राष्ट्रका नागरिक बन्न पुगे र विविध कारणहरूले किरात नाम भुल्दै छोड्दै गए र अनेक नाम धारण गर्दै गए (रामचन्द्र,२०६४,६)।
१.४ वर्तमान समयमा किरात जाति
मानवशास्त्री सुनीतिकुमार चटर्जीका अनुसार भोटबर्मेली भाषा परिवारका भाषा बोल्नेहरू किरात हुन् भनिएतापनि वर्तमान समयमा नेपालका राई, लिम्बू, याक्खा, सुनुवारले मात्र आफूलाई किरात भन्ने गर्दछन् । प्राचीन जाति किरातले मानव सभ्यतामा अमूल्य योगदान गरेका छन् । वर्तमान समयमा किरातहरू को को हुन् वा कुन कुन जातिहरू किरात हुन् ? खोजको विषय भएको छ ।
२. किरात संस्कृति
प्रकृति र पितृपूजक किरात जातिको धर्म र संस्कृति बारे अनेक धारणाहरू व्यक्त भएको पाइन्छ । यस्ता केही धारणाका बारेमा यस कार्यपत्रमा चर्चा गरिएको छ ।
२.१ किरात संस्कतिमा अन्तर
वर्तमान समयमा किरातहरू अनेक शाखा प्रशाखामा बाँटिए पनि उनीहरूको धर्म, संस्कृति प्राचीन किरात संस्कृतिभित्रै भएको देखिन्छ । स्वामी (२०५१,२९३) ले किरात धर्मलाई हिन्दुआर्यसनातन धर्म नै मानेका छन् । ऋग्वेदकालदेखि लिएर आजसम्म किरातहरूको धर्मसंस्कृति एकैनास चलि आई राखेको छ । किरातहरूको आफ्नो बोली बन्नु थालेपछि आआफ्नै बोलीभित्र पूजाआजा र काजकिरिया आदि गर्दै आए पनि आआफ्नो बोलीभित्र पनि उही वैदिक सनातन क्रियाकलाप प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । केही उपकरण वा केही सामग्री विशेषमा भने अवश्य अन्तर देखिन्छ । परन्तु त्यो नगण्य मानिन्छ । समाजबाट बेग्लिएर आआफ्नो समाज बनाउँदै जाँदा केही अन्तर पर्नु स्वाभाविक कुरा हो भनिन्छ । जनक लाल (२०३९, २८०) पनि किरात जातिका भिन्न भिन्न दलका बोली, संस्कृति र सामाजिक नियममा आज जुन साधारण अन्तर देखिन्छ त्यसको प्रधान कारण भौगोलिक मान्दछन् ।
२.२ किरातहरूको धर्म, संस्कार, परम्परा, चाडपर्व आदि
२.२.१ किरातहरूको धर्म र संस्कार
किरातहरूको प्राचीन धर्म किरात धर्म नै हो । किरातहरूको ऋसिया र मुन्धुम नै भारोपेली जनगणहरूको ऋचा र मन्त्र हुन पुगेको हो (रामचन्द्र, २०६४, १९३) । आज पनि राई लिम्बूको ठूलो हिस्साले मुन्धुमबाट नै आफ्नो सम्पूर्ण संस्कार र पूजा आजा गरि आएको पाइन्छ । हरेक धार्मिक र सांस्कृतिक क्रियाहरू ऋसिया र मुन्धुमद्वारा नै सम्पन्न गरिन्छ ।
आज राई लिम्बू किरातले आफ्नो धर्म किरात मुन्धुम धर्म हो भनि आएका छन् । गुरुङ, तामाङ, शेर्पा जातिले बौद्ध धर्म मानेका छन् । थारु, धिमाल, मगर, सुनुवार जातिले आफ्नो छुट्टै धर्मको नामाकरण गर्न सकेको छैन तापनि मुन्धुम धर्म जस्तै करिब करिब नजिक धर्मसँग नजिकिएको र महादेव पार्वतीलाई नै कुनै न कुनै रूपमा इष्ट देवी देवता मानि पुजेको देखिन्छ । तामाङ जातिले मालक खण्डो लादइनो (जगदम्बा), चतुर्मुखी ब्रह्म (फावाच्याइरेसी), पञ्चभगवान (साइगेरिडा), ब्रह्म, विष्णु, महेश (कुशुङथु) को रूपमा मान्दछन् । बौद्ध धर्म मान्ने गुरुङ, तामाङ, शेर्पाले पनि आफ्नो प्राचीन धर्म संस्कार छाड्न सकेको छैन (रामचन्द्र, २०६४,१०३) ।
किरातहरू पितृपूजक पनि हुन् । उनीहरू पितृ पूजालाई राईहरू ‘चाछुवा’ र लिम्बू किरातहरू ‘चासोक’ भन्दछन् । चाछुवा चासोक माङपा फेदाङमाले गर्दछ । माङपा फेदाङमा राई लिम्बू किरातहरूको पुरोहित हो ।
धर्मशास्त्रमा उल्लिखित सोर संस्कारहरूलाई भारोपेली जनगणहरूले आफ्नो भनी दाबी गरेका छन् । पुत्रेष्टि अनुष्ठान (गर्भाधान) देखि लिएर मृत्यु पर्यन्त गरिने १६ वटा संस्कारहरू निम्न प्रकार छन्— १. गर्भाधान २. पुंसवन ३. सीमन्तोेन्नयन ४. जातकर्म ५. नामकर्म ६.निष्क्रमण ७.अन्नप्रासन ८.कर्ण वेध ९. चूडाकर्म १०. केशान्त ११.विद्यारम्भ १२.उपनयन १३. वेदारम्भ १४. समावर्तन १५. विवाह १६. अन्तेष्टि ।
धर्मशास्त्रमा उल्लिखित १६ संस्कारमध्ये उपनयन र केशान्त बाहेक अन्य संस्कारहरू किरातहरूले प्राचीन समयदेखि गरी आएकै देखिन्छ । अघि किरातहरूले पनि उपनयन संस्कार गर्थे भन्ने पनि कुरा उठेको छ । सो कुरा अनुसन्धान अन्वेषण गर्नेहरूले निचोड निकाल्ने नै छन् । यो उपनयन संस्कारसँग मिल्दोजुल्दो किरात समाजमा बालबालिकालाई वालिग भएको घोषणा गरी कानुनी अधिकार र कर्तव्य प्रदान गर्ने राईहरूको ‘तितपुमा बोब्बि’ र लिम्बूहरूको ‘चोलुङथिम’ संस्कार गर्ने गरेको पाइन्छ । अन्य संस्कारहरू सबै किरातहरूले प्राचीन समयदेखि गरेर कतिपय छोडेतापनि कतिपय आज पर्यन्त गरी रहेकै छन् । फरक कति छ भने यी संस्कारहरू आफ्नै पुरोहितद्वारा सम्पन्न गराउँछन् (रामचन्द्र,२०६४,१३९)। किरात पुरोहितहरूलाई माङ्पा, फेदाङमा भनिन्छ ।
२.२.२ किरात जातिका समाजिक मान्यता
किरातहरूमा स्त्री जातिलाई देवी सरह मानिन्छ । किरात समाजमा गृहिणीलाई नै घर मानिएको र गृहिणी विनाको घर नै हुँदैन भनिन्छ । घरको ढुकुटीको तालाचाबी गृहिणीको जिम्मामा रहन्छ ।
राई किरातहरू आपूmलाई सुम्निमा पारुहाङको र लिम्बू किरातहरू युमासाम थेवासामको सन्तान हौँ भन्दछन् । उनीहरूले सुम्निमा पारुहाङ, थेवासाम युमासामलाई आफ्नो इष्ट देवीदेवता मान्दछन् । सुम्निमा पारुहाङ, थेवासाम युमासाम को हो भन्दा महादेव पार्वती हो पनि भन्दछन् ।
राई किरातहरूको घरमा तीनवटा ढुंगाको चुलो हुन्छ । जसलाई थुतुलुङ, हुतलुङ र सुतलुङ भनिन्छ । लिम्बू किरातहरूले सुम्जिली सुम्हालुङ भन्दछन् । थुतुलुङ, हुतलुङ र सुतलुङ भनेको ब्रह्म, विष्णु र महेश जो हिन्दुहरूको त्रिदेव अर्थात् सृृष्टि,स्थिति र संहारको प्रतीक हो । लिम्बू किरातहरूको सेजोनुले सृृष्टिको रूप बुझाउँछ । किरातहरूले चुलामा आगो निभ्नु हुँदैन भन्ने मान्यताले गर्दा चुलोमा अगुल्ठो घुसारेर आगो बचाइ राख्छन् । किरात संस्कारमा चुलोको अत्यन्त ठूलो महत्त्व रहेको हुन्छ । छोरी चेलीहरूको विवाह भएपछि चुलोबाट निकालिन्छ भने नयाँ बुहारीहरूलाई चुलोमा हुलिन्छ र अन्य धार्मिक र संस्कृतिसम्बन्धी कार्यहरूमा चुलो आवश्यक हुन्छ ।
२.२.३ किरातहरूको चाड पर्व
किरातहरूले विभिन्न चाड पर्वहरू मान्ने गर्छन् । ती चाडमध्ये राईहरूको साकेला र लिम्बूहरू चासोक तङनाम प्रमुख बन्न गएको देखिन्छ । दशैँलाई धेरै किरातहरूले मान्न छाडेका छन् तर तिहार भने सबैले मानेको पाइन्छ ।
२.२.४ किरात भेषभूषा, गरगहना, बाजा र नाचगान
नेपाली पुरुषहरूको राष्ट्रिय पोशाक दौरा सुरुवाल र टोपी किरात राईहरूकै प्राचीन पोशाक भएको तथ्य धेरै विद्वान्ले मानेका छन् । महिलाहरूको चौबन्दी चोलो र फरिया पनि किरातहरूसँगै जोडिन आउँछ । नेपाली गहनाहरू बुलाकी, ढुङ्ग्री, नौगेडी आदि गहनाहरू किरातहरूमा प्रचलित छन् ।
ढोल झ्याम्टा, यलम्बर बाजा, बिनायो, मुर्चुङगा आदि बाजाहरू किरात जातिका देन हुन् । किरातहरू कला र मनोरञ्जनपे्रमी भएकैले किरातहरूको अनेकौँ नाचहरू साकेला, धान नाच, ढोल नाच आदि उल्लेखनीय रहेको छ ।
२.२.५. किरात भाषा र लिपि
प्राचीन कालमा किरात भाषा र लिपि विकसित अवस्थामा रहेको मानिन्छ । त्यही किरात भाषा र लिपिको माध्यमबाट अनेकौं उल्लेख्य कार्यहरू भएको हुन सक्छ । काठमाडौंमा पाइएको किरात लिपिको शिलालेख आजसम्म पढ्न सकिएको छैन तर त्यसले किरात लिपि र भाषा थियो भन्ने प्रमाणित गर्छ ।हाल राई लिम्बूहरूले श्रीजङ्गा लिपिप्रयोग गरिरहेका छन् । भाषाको क्षेत्रमा पनि किरातहरूको अनेकौं भाषा रहेको छ । किरातहरूमध्येका राईहरूका २८वटा भाषा राईका विभिन्न पाछाहरूले बोलिरहेको पाइन्छ ।
३ निष्कर्ष
किरातहरूको आफ्नै रीतिरिवाज, प्रथा, परम्परा, संस्कृति, धर्म र सभ्यता थियो – छ । विशाल किरातदेशमा आवाद किरातहरूको रीतिरिवाज प्रथा, परम्परा, संस्कृति, धर्म र सभ्यता एकै प्रकारको हुनु सम्भव थिएन । त्यसमाथि संस्कार र आचरणको संंकीर्ण घेराभित्र आपूmलाई राख्न नरुचाउने उदात्त हृदयका किरातहरूको सभ्यतामा अन्य सभ्यताहरू पनि मौलाउदै गए होलान् । विशाल क्षेत्रमा आवाद हुन पुगेका किरातहरूको भौगोलिक जलवायु, समय र अन्य विविध कारणहरूले उनीहरूको संस्कृति र सभ्यता पनि विविध हुन पुगेको निश्चित छ । त्यसरी नै उनीहरूको नाम पनि विविध रहदै गएको बुझिन्छ । अझ सानो सानो टुक्रामा विभाजित हुँदै जाँदा आफ्नो रीतिरिवाज, संस्कार र सभ्यता पनि भुल्दै गएकोले अर्काको रीतिरिवाज, संस्कार र सभ्यता पनि अँगाल्दै गएको पनि हुन सक्छ ।
किरातहरूको बारेमा गहिरिएर अध्ययन गरी हेर्दा उनीहरूले जीवन यापनको सिलसिलामा मानव उपयोगी अनेक कुराहरूको अन्वेषण र प्रतिपादन गरी समाजलाई सुम्पेको र उन्नत धर्म, संस्कार, विचार आदि प्रतिस्थापन गरी समाजलाई न्यायपूर्ण बनाएको पाइन्छ ।
किरातहरू वैदिककाल पूर्वका जनगण हुन् । वेदमा किरातहरू कतै पुरोहितको रूपमा देखिन्छन् त कतै देवताको रूपमा स्थापित छन् । कतै राजा महाराजाको रूपमा देखिन्छन् । त्यहाँ किरातहरू शुद्रको रूपमा देखिँदैनन् ।
किरातहरूले विश्वमा मानव सभ्यताको बीजारोपण गरेको हुनाले नै धुस्वा सायमी लेख्नु हुन्छ– ‘‘परम्पराअनुसार किरातीहरूले नेपालमा सर्वप्रथम मानव सभ्यताको विगुल फुकेको मान्नु पर्छ । अर्को शब्दमा किरातीहरूले अपनाएको धर्म संस्कृति नेपाली धर्म संस्कृतिको प्रवेश द्वार हो ।’’ त्यसरी नै बालचन्द्र शर्माको ठहर छ— ‘‘किरातहरूको पालादेखि नेपालको मौलिक आर्थिक, सामाजिक र धार्मिक क्रम बसिसकेको, नेपालको जातीय र राष्ट्रिय जीवनको अंकुर भएको, किरातहरूको शासन नै नेपाली संस्कृतिको उत्पति हो ।’’
हिन्दुहरूले मानेको देवीदेवता सबै किरातहरूकै देवीदेवताहरू हुन् । किरातहरूले मानि आएको देवीदेवतालाई नै अर्कै नाम रूप दिइ उनीहरूले मानेका छन् (रामचन्द्र,२०६४,१०७)।
अन्तमा, विश्वका किरातहरूले सूक्ष्मातिसूक्ष्म रूपमा आफ्नो धर्म संस्कृतिको समीक्षा गरेर सहि धर्म र संस्कृति अवलम्बल गर्नु पर्ने स्थिति आएको छ । अब किरातहरूले यस्तो धर्म र संस्कारलाई अवलम्बन गर्नु प¥यो जसले किरातहरूलाई एक सूत्रमा बाँधेर अझ उन्नत सभ्यतातर्फ लैजाओस् । अब किरातहरूले अवलम्बन गर्ने धर्म र संस्कृति अन्धविश्वासमा आधारित नहोस् र जातपातको भेदभावबाट मुक्त रहोस् । त्यो धर्म र संस्कृति वैज्ञानिक होस्, भौतिकवादी होस्, सार्वभौमिक र सार्वकालिक होस् । किरात लगायतका सम्पूर्ण मानव मात्रका कल्याणकारी होस्, प्रगतिशील होस् ।
सन्दर्भ सामग्री
राई,ईश्वरकुमार (२०६८),‘‘किरात राई र भाषासंस्कृति ः समाजशास्त्रीय अध्ययन’’दृष्टिकोण, धरान ः महेन्द्र बहुमुखी क्याम्पस ।
शर्मा, जनकलाल (२०३९),हाम्रो समाज ः एक अध्ययन, काठमाडौँ ः साझा प्रकाशन ।
साम्पाङ,भूमि ((२०६६),खम्बू र खम्बूवान, बाबुराम ‘काइला’ राई ।
प्रपन्नचार्य, डा. स्वामी (२०५१) प्राचीन किरात इतिहास, ।
थुलुङ,सम्माननीय नारद मुनि (२०४६),किराँतको नालिबेलि, अङ्गुर कन्दङ्वा ।
हतुवाली,चन्द्रकुमार (२०६४)साकेन्वा, काठमाडौं ः बान्तावा अनुसन्धान प्रतिष्ठान।
रामचन्द्र राई (रूपाबुङ्ग) (२०६६), प्राचीन किरातहरूले छाडेका सम्पदाहरू, तेह्रथुम ः यशोधा खापुङ्ग।
Chatterji, Sunitikumar (1974)Kirat Jana Krti, The Asiatic Society
(नेपाली संस्कृति :अन्तर्राष्ट्रिय संगोष्ठी , असम र किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान ( किरात राई बान्तावा खिम)को अन्तरक्रियात्मक संगोष्ठीमा प्रस्तुत कार्यपत्र  )

No comments:

Post a Comment