Saturday, March 29, 2014

आज मलाई मन प¥यो
आज मन पर्यो
.......मनहरु पनि जले
घर्ती मनहरु जले , अनि जले सेतो धरती जल्दैछन् यी आस्थाहरु, उपल्ला सभ्यताहरू , ठुलाबडा छुतहरू ,तल्ला(साना अछुतहरु भन्दा महान् हुन्छन् भन्ने भ्रमहरु भत्कदै छन् ...उत्पीड़ित आत्मालाई जलाएर कुनै स्रष्टा अझ अमर बन्लान् ?

तारालाल श्रेष्ठ : किन जल्यो किताब ? ,नागरिक , २०६९, मंसिर,९

अबको साहित्य सामन्ती संस्कारको जगमाथि लेखिनु हुन्न ,सामन्ती संस्कारको जगमाथि ठड्याइएको साहित्य जल्दै जाने छन् | त्यस्ता साहित्यको आयु सकिएको छ र ,अब नयाँ साहित्यको उदय भैसकेको छ|
 * * *

आज मलाई मन पर्यो_२

जर्ज बर्नार्ड शाको आत्मकथन

मैले आफ्नो पाँचै वटा उपन्यासहरू लन्ड़नको सबै प्रकाशकहरुलाई पठाई सकेको थिएँ , र केहि अमेरिकन प्रकाशकहरुलाई पनि | कसैले पनि छाप्ने स्विकृती दिएनन् | पचास साठी पटक अस्वीकृत भए पछी मैले हिम्मत हार्न थालेको थिएँ जसले गर्दा प्रंससा र आलोचनाबाट म लापरवाह भएँ जसले आजसम्म मलाई फायदा भएको छ तथापि मलाई मेरो यस्तो लापरवाहिले केही कामहरुमा नोक्सान भएको छ |

अनुवादक ( सरण राई ,( नवनीत ,वर्ष ३७ .अङ्क ५ ,मई , १९८८ बाट)

* * *

आज मलाई मन प¥यो – ३

सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आपूmसित सधैं राख्थे  र बारम्बार ऐनामा आफ्नो अनुहार  हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म  सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार  गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’
डा. गोपालप्रसाद ‘वंशी’

अनुवादक– सरण राई, (नवनीत,वर्ष ३७, अङ्क ५,मई, १९८८ बाट)
* * *

आज मलाई मन प¥यो – ४
सुख के हो ?

सुखका एउटा ढोका बन्द हुँदा अर्को खुलेको हुन्छ । तर हामी कहिले कही बन्द भएको ढोकालाई यति धेरै समयसम्म हेरिरहन्छौँ कि खुलेको ढोका देख्न सक्तैनौँ ।
                                —हेलेन केलर

मलाई आश्चर्य लाग्छ कि सुखको मनोकामना गर्नु पनि मेरो दुःखको अटुट भाग भएको छ ।
                —खलील जिब्रान

सुख दिने कुराहरू पहिले पनि थिए र अहिले पनि छन् । फरक यो छ कि जुन व्यक्ति सुखको मोल पहिले तिर्छ  र त्यसको आनन्द पछि लिन्छ, उसले धेरै स्वाद पाउँछ । जसले सुख सजिलै पाउँछ, उसको निम्ति सुख नै मृत्यु हो ।
—    रामधारीसिंह दिनकर
मनिसलाई सुखको पीर र अल्सिले चौपट बनाउछ ।
—शौपनहावर

सुखले भाग्यमानी मानिसको परीक्षा लिन्छ भने संकटले महान् मानिसको ।
—प्लिनीद यंगर
धरतीमा फूलहरू एकअर्कासित इष्र्या गर्दैनन् जबकि उनीहरू एक अर्कोभन्दा सुन्दरता र खुबीहरूले भरिएका हुन्छन् । उनीहरू एक अर्काको छिमेकमा बस्दछन् र एकअर्काको खुबीहरूबाट सुख पाउँछन् ।
—    जेकब बोह्मी
त्यही मानिस सुखी हुन्छ जो मानसिक अशान्ति बीना साँचो सिद्धान्त र आदर्शमा हिड्दै आफ्नो गन्तव्य तय गर्छ ।
—ऐस्ट्रँज

सुख असल गुणद्वारा उत्पन्न गर्न सकिन्छ र यसको लागि  यो आवश्यक हुन्छ कि यसको निर्माण सत्यको जगमाथि गरिएको होस् ।
—    काँलरिज
अरूलाई सुख दिँदा हामी यति धेरै सुख पाउँछौँ कि हामी उसलाई धन्यवाद दिन मन पराउछौँ ।
—    हेनरी द मौतरलां
(संकलक–रवीन्द्र वांगड)
अनुवादक– सरण राई ( नवनीत, वर्ष ३२, अङ्क १२, दिसम्बर, १९८३)
* * *


आज मलाई मन प¥यो ः ५

पाब्लो पिकासो के भन्छन् ?
हामी चित्रकारहरू कल्पनालाई कसरी प्रस्तुत गर्छाैँ भने मानौँ ति यथार्थ हुन् तर लेखकहरू चाहीँ यथार्थलाई काल्पनिक रूपमा प्रस्तुत गर्छन् ।

मानिसको पतन त्यसबेलादेखि सुरु हुन्छ जब ऊ समकालिनहरूसँग इष्र्या गर्न थाल्छ ।

मैले के बानी बसालेको छु भने भयङ्कर अन्धकारमा पनि उज्यालोको खोजी गर्ने र जब प्रकाशको एउटा किरण पनि फेला पर्छ ,त्यसको सहाराले म अँध्यारोलाई बिर्सिदिन्छु । यसरी  कैयौँ कठिनाइहरू मेरा लागि सरल भएका छन् ।

हृदय बिश्वासको मुल हो । राम्रो मित्रता केवल सज्जनहरूसँग हुन्छ । दुष्ट मान्छेहरूसँग स्थायी मैत्री हुन सक्तैन । उनीहरूको स्नेह खाली देखावटी हो, तिनीहरूको मित्रता बालुवाको घर हो जहिले पनि भत्किन सक्छ ।

सौन्दर्य रक्सीभन्दा मादक हुन्छ । त्यसले दृश्य र दर्शक दुवैलाई उन्मादित पार्छ । नारीको अध्ययनबाट मेरा प्रवृत्तिहरू बढी सुरूचीकर हुँदै गइरहेछन् ।

तरुण्याई नयाँँ लुगाजस्तो होइन जसलाई अलिअलि प्रयोग गरेर हामी धेरै दिनसम्म खपाउन सक्छौँ । यौवन जबसम्म छ सधैं प्रयोगमा आउनुपर्छ किन भने यो चाडै जान्छ ।

निराश प्रेमीहरूले कहिल्यै आशा छोड्न हुँदैन किन भने दिनमा चौबिस घण्टा  हुन्छन् । तिनमा कुनै पनि क्षण यस्तो छैन जसमा स्वास्नीमान्छेले आफ्नो विचार नबदलोस् ।

यो अव्यवस्थित ब्रम्हाण्ड हाम्रै मनस्थितिको प्रतिबिम्ब हो, हामी अस्वाभाविक इच्छाहरूलाई प्रोत्साहित गरेर आफै नै बाटो दुर्गम पार्दछौँ, आपैm आफ्नो स्वार्थलाई जाग्रत पार्दछौँ ।

पुरुष स्त्रीलाई आफ्नो प्रतिबिम्ब बनाउन चाहन्छ । तर  त्यो नारी जो पुरुषको प्रतिबिम्ब मात्र छ, स्वयंमा केही छैन, पुरुषको कुनै सहायता गर्न सक्तिन ।


प्रस्तुति–सरण राई (कलाकार, वर्ष २, अङ्क ४, २०३८बि.सं. बाट )
* * *
आज मलाई मन प¥यो ः ६

बौद्ध–साहित्य
....बुद्ध स्वयं बोधिज्ञानलाभअघि गरेको तपस्याको अनुभव बोधिराजकुमारलाई सुनाउनुहुन्छ—
“.... तब मलाई लाग्यो, श्वास नफेरीकनै तपस्या किन नगरुँ ?
अनि मैले मुख र नाकबाट श्वास फेर्न बन्द गरेँ ।... शरीरमा...
बेस्सरी दाह हुन्थ्यो, जसरी दुई पहलवानले एक अशक्तलाई
आगोमाथि चारैतिरबाट तपाउने हो, त्यसरी नै... जसरी काँचो
लौका हावा र घाममा मुर्झाउने हो, त्यसरी नै मेरो शरीरको
छाला मुर्झायो । ....राजकुमार । पेटको छाला मसल्दा पीठको
हड्डी छोइन्थ्यो, पीठको हड्डी मसल्दा पेटको छाला छोइन्थ्यो ...’’
—     —
अच्चेन्ति सुत्त

“.... समय बित्दै छ, रात बित्दै छन्,
सिद्धिदैछन् जीवनका पलहरू एक एक गरी ।
त्यो भयलाई हेरी मृत्युको
त्याग गर सांसारिक सुख शान्ति चाहन्छौ भने ।”
—    —
निपातहरू

“....भिक्षुहरू ! मैले यस्तो कुनै एक वस्तु देखेको छैन, जसलाई
वशमा नपारे यति अनर्थकारी हुन्छ, जति कि यो चित्त....”

—    —
”.... भिक्षुहरू ! यी दुई मूर्ख हुन् । को को ? एक त्यो
जो दोषलाई मान्दैन, दोस्रो त्यो जो आफ्नो दोषलाई
दोष भन्नेलाई क्षमा गर्दैन । भिक्षुहरू ! यी दुई मूर्ख हुन् ...”

प्रस्तुति– सरण राई (नेपाली साहित्यकोश,२०५५बाट )
* * *

आज मलाई मन प¥यो : ७
सिग्मन्ड फ्रायड (१८५६–१९३९) को मनोविश्लेषन–सिद्धान्तका अनुसार चेतनाका (कन्सियसनेस) तीन तलहरू (लेवल्स) हुन्छन् । ती हुन् — चेतन,उपचेतन, एवं अचेतन । चेतन तलमा वर्तमान क्षणका विभिन्न संवेदनाहरू र अनुभूतिहरू हुन्छन् ।यो चेतन, मानसिक जीवनको सानो भाग हुन्छ । यो भाग अत्यन्त अल्प समयको लागि चेतन हुन्छ एवं छिटै उपचेतन तलमा परिवर्तित हुन्छ जसरी मानिसको ध्यान फेरिन्छ वा घट्न जान्छ । चेतन मानवीय व्यक्तित्वको सानो र सीमित पक्ष हो ।
उपचेतन क्षेत्रलाई प्राप्त स्मृति पनि भनिन्छ । यसमा न्यूनतम प्रयासद्वारा अनुभूतिहरूलाई संस्मरण गर्न सकिन्छ । यसमा रहने अनुभूतिहरू तत्काल चेतन नभए तापनि यी स्वतः चेतन तलमा प्रकट हुन सक्छन् । यस्ता अनुभूतिहरूमा एक सातामा आफ्ना क्रियाकलापहरूका स्मृतिहरू र अन्य अतीतका संस्मरणहरू सङ्कलित रहन्छन् । फ्रायडका विचारमा उपचेतनले चेतन र अचेतनबीच पुलको काम गर्छ । मनोविश्लेषणात्मक उपचारको फलस्वरूप अनुभूतिहरू अचेतनबाट उपचेतन हुँदै चेतन तलमा आउँछन् ।
मानवीय मनको तेस्रो र भित्री पत्र अचेतन हो । फ्रायडका अनुसार अचेतन अनुभवजन्य एवं यथार्थपूर्ण हुन्छ । यसले मानवको महत्वपूर्ण पक्षलाई ओगटेको छ औ मानिसको व्यवहारलाई निर्धारित गर्दछ । अचेतनका इच्छाहरू दहिम हुन्छन् । एवं मौका पाए छद्मरूप लिएर वा साङ्केतिक तवरले भए पनि दिवा–स्वप्न, स्वैर–कल्पना (फेन्तेसी) र स्वप्नको माध्यमबाट चेतनतलमा आउँछन् एवं जागृत हुन्छन् । मानवीय मनको ९० % भाग अचेतन विचारहरूले भरिएको हुन्छ । मानिसको अस्तित्व–निर्माणमा अचेतन मानसिक प्रक्रियाको केन्द्रिय भूमिका हुन्छ । १९२० तिर फ्रायडले मानवीय व्यक्तित्वसम्बन्धी परिवर्धित धार प्रस्तुत गरेका थिए । मानिसको व्यक्तित्वको संरचना तीन किसिमको प्रणलीहरूबाट बनेको हुन्छ । ती हुन्— इदम् (इड), अहम् (इगो) र परा अहम् (सुपर इगो)। यी संरचनाहरू भए पनि फ्रायडको विचार अनुसार अमूर्त एवं परिकल्पनात्मक अवधारणा (कन्सेप्ट) नै हुन् ।
प्रस्तुति– सरण राई (नेपाली साहित्यकोश,२०५५बाट )
* * *

आज मलाई मन प¥यो : ८
रस र तिनको परिचय
पूर्वीय काव्यशास्रमा आठदेखि एक्काइस रसको उल्लेख भए पनि उद्भटले औँलाएको नौ रस नै सर्वमान्य देखिन्छन् ।
 शृङ्गाररस— कामिजनको हृदयमा सुषुप्त रहेको ‘रति’ रसानुभूतिको स्तरमा पुगेको अवस्था नै शृङ्गाररस हो ।
हास्यरस— विकृत वेशभूषा अनुपयुक्त वचन तथा  हास्योत्पादक चेष्टा आदिबाट हास्यरसको उत्पत्ति हुन्छ । हँसाइको मात्राको आधारमा स्मित, हसित, विहसित, अवहसित, अपहसित, र अतिहसित गरी ६ प्रकारमा यस रसलाई वर्गीकृत गरेको पाइन्छ ।
करुणरस— इष्टनाश र अनिष्टको प्राप्तिबाट उत्पन्न हुने रस करुणरस हो ।
रौद्ररस— क्रोध स्थायीभाव भएको, राक्षस, दानव र उद्धत मनुष्यमा आस्रित रस रौद्र रस हो ।
वीररस— उत्साह स्थायीभाव भएको रस वीररस हो ।
भयानकरस— त्रासोत्पादक दृश्य देख्नु वा बलवान् व्यक्तिमाथि अपराध गर्नु आदि कारणबाट भयानकरस उत्पन्न हुन्छ । भनकरस स्वनिष्ठ र परनिष्ठ गरी दुई प्रकारमा वर्गीकृत गरिएको पाइन्छ । यस रसको स्थायीभाव भय हो ।
वीभत्सरस— वीभत्सरस अपवित्र, अप्रिय एवम् अनिष्ट विषय र वस्तुको दर्शन श्रवन परिकिर्तन आदि विभावादिबाट निष्पन्न हुन्छ ।
अद्भुतरस— अद्भुतरस आश्चर्यजनक पदार्थको दर्शन लोकोत्तर घटना वा वस्तुको दर्शन तथा श्रवण आदिबाट निष्पन्न हुन्छ ।
शान्तरस — तत्वज्ञान तथा वैराग्यबोधले गर्दा शान्तरसको निष्पत्ति हुन्छ ।
प्रस्तुति– सरण राई (नेपाली साहित्यकोश,२०५५बाट )


आज मलाई मन प¥यो : ९
मानिस के ले बाँच्छन् ?
लियो ताल्स्तोय
अनुवादक– प्रा .राजनारायण प्रधान

...भगवानले मलाई ( मृत्युको देवदुत  जो भर्खर जम्ल्याहा नानीहरू जन्माएको आमाको आत्मा लिन पठाएकोमा  दया लागि आत्मा नलिइ फर्केकोले र भगवानको आदेश पालना नगरेकोले ) दण्ड दिनुभएको थियो । (दण्डस्वरूप मृत्युको देवदुत  मलाई मानिस बनाएर पृथ्वीमा)  भगवानले मलाई तीनवटा सत्य कुरा सिक्न पठाउनु भएको थियो । ती तीन कुरा हुन् — मानिसमा कसले बास गरेको हुन्छ, मानिसलाई के दिइएको हुँदैन अनि मानिस के ले बाँचेका हुन्छन् ?
(जाडोले कक्रिएर र भोकले मर्न लागेको मानिसरूपी मलाई) तिम्री स्वास्नीले दया देखाउँदा मैले एउटा सत्य कुरा सिकेँ । “मानिसमा के ले बास गरेको हुन्छ” भन्ने सम्झेँ । अनि मानिसमा प्रेमले बास गरेको हुन्छ भन्ने कुरा बुझेँ ।
 म तिमीसँग बसेँ अनि एक वर्ष बित्यो । एउटा मान्छे आयो र  उसले एक वर्ष खप्ने, नफाट्ने, रूप नबिग्रिने बुटजुत्ता बनाउने आडर दियो । मैले उसलाइृ हेरेँ अनि हठात् उसको काँधपछाडि मेरो साथी देखेँ– मृत्युको देवदुत ।  मैले मात्र उसलाई देखेँ । तर मैले उसलाई चिनेँ  र त्यो धनि मान्छेका आत्मा उसले लानेछ भन्ने कुरा थाहा पाएँ ।अनि मैले मनमनै भनेँ “यो मान्छेले एक वर्षको लागि तयारी गर्दैछ । तर आज साँझको अघि नै ऊ मर्नेछ भन्ने कुरा उसलाई थाहा छैन ।” अनि भगवानले भन्नुभएको दोस्रो सत्य “मानिसलाई के कुरा दिइएको हुँदैन” भन्ने सम्झेँ । ... मानिसलाई के कुरा दिइएको हुँदैन भन्ने कुरा जानेँ । मानिसको मृत्यु कहिले हुन्छ, त्यो ज्ञान उसलाई दिइएको हुँदैन रहेछ ।
तर अहिले मैले सबै कुरा जानिसकेको थिइनँ । मानिस केले बाँच्छन् भन्ने कुरो जानेको थिइनँ । अनि भगवानले मलाई अन्तिम पाठ कहिले सिकाउनुहुन्छ भनेर म पर्खिए । छैटौँ वर्षमा त्यो महिला दुई जम्ल्याहा बालिकाहरूलाई लिएर आइन् । मैले बालिकाहरूलाई चिनिहालेँ अनि तिनीहरूलाई उनले कसरी बचाइन् त्यो पनि सुनेँ । उनीहरूको कथा सुनिसकेर मैले विचार गरेँ— “तिनीहरूकी आमाले यिनीहरूको निम्ति मलाई बिन्ती गरेकी थिई । उसले आमा–बाबुबिना बच्चाबच्ची बाँच्न सक्तैनन् भनी । मैले उसको कुरा पत्याएँ । तर एउटी अपरिचित महिलाले उनीहरूको स्याहार–सुसार  गरिन् र हुर्काइन् ।” अनि जब उनले ती बालिकाहरूलाई माया गरिन्, उनीहरूको निम्ति रोइन्, त्यतिबेला मैले उनमा साक्षात भगवान देखेँ अनि मानिस केले बाँच्छन् त्यो बुझेँ । भगवानले मलाई अन्तिम पाठ पनि सिकाउनु भयो ।
मानिस भएपछि म बाँचे किनभने एउटा बटुवाको मनमा प्रेम थियो । उसले  र उसकी  स्वास्नीले मलाई दया गरे, माया गरे । टुहुरीहरू बाँचे किनभने एउटी अपरिचित महिलाको मनमा प्रेम थियो । उनले उनीहरूलाई दया गरिन्, माया गरिन् । अनि मानिसहरू आफ्नै हितको चिन्ताले बाँचेका होइनन् तर प्रेमले बाँचेका हुन् ।
प्रस्तुति– सरण राई ( प्रा .राजनारायण प्रधान : विश्वका महान् कथाहरू,२०६५ बाट )
* * *

आज मलाई मन प¥यो : १०
तुर्कमनी लोककथा
भाग्य र स्त्री
अनुवादक– सरण राई
एउटा परिवारमा तीनजना बुहारीहरू थिए । उनीहरू खुसी थिए र एक आपसमा मिलेर बसेका थिए । एक दिन उनीहरू सबैको साझा भाग्य जेठी बुहारीकोमा गयो र भन्यो ः
“प्यारी, तिमी मसित जे चाहन्छौ माग, किनकि म यहाँबाट जाँदै छु ।”
“ठीक छ”, जेठी बुहारीले भनी “ मलाई धेरै धेरै धन दिनुहोस्, त्यसपछि जता जानु छ जानुहोस् ।”
भाग्यले उसलाई उसले मागे अनुसारको सबै कुरा दियो र माइली बुहारीकोमा गयो ।
“प्यारी”, उसले भन्यो, “ मैले यहाँबाट जानु छ । त्यसकारण बिदा हुनुभन्दा अगाडि जे चाहन्छौ मसँग माग ।”
“ठीक छ,” माइली बुहारीले भनी, “यदि जाँदै हुनुहुन्छ भने मलाई धेरै धेरै पैसा दिनुहोस् ।”
“राम्रो”, भाग्यले भन्यो । उसले माइली बुहारीको इच्छा पूरा ग¥यो र कान्छी बुहारीकोमा गयो ।
“प्यारी, मैले तिम्रो देश छाडेर जानु छ ।” उसले सानो बुहारीलाई सूचना दिँदै भन्यो,“छोड्नुभन्दा पहिला म तिमीलाई तिमीले चाहेको सबै कुरा दिन्छु, सुन चाहन्छौ सुन, चादी चाहन्छौ चादी ।”
“अपशोस, तपाईँ हामीलाई छाडेर जानु हुँदै छ ।” सानी बुहारीले  साँच्चै दुःखी  भएर भनी, “मलाई न सुन चाहिन्छ, न चादी, न धन । यदि हुनसक्छ भने हामीलाई स्वास्थ्य र मेलमिलाप दिनुहोस् । बाँकि अरु हामी आपैm खोज्नेछौँ ।”
“यदि तिमी यति मात्र मागिरहेकी छ्यौ भने,” भाग्यले भन्यो “मैले अन्त जानुपर्ने आवश्यकता नै रहेन । म सायद सधैंको लागि तिम्रै झुपडिमा नै बसिरहुँला ।”
 ठुला बुहारीहरूले आफ्नो सबै धन खर्च गरेर सके । उनीहरू प्रायजसो सानी कान्छी बुहारीसँग मदत माग्थे र सानो बुहारीले उनीहरूलाइृ कहिल्यै निराश पारीनन् ।

श्रोतः तुर्कमनी लोक कथाएं, रादुगा प्रकाशन, मास्को , सन १९८२

* * *

आज मन पर्यो ) ११

....समाजको प्रत्येक युवकले ऊच्च आदर्श अघि राखेर स्ययं सच्चरित्र रह्यो भने पनि समाजको ठुलो उपकार हुन्छ | तिनका आदर्शले समाजका अरु दसजना टिठाहरुको पवित्र संगठनमा प्रभाव पर्छ | यो पनि समाज संगठन र सुधारमा अल्प महत्वको कुरा होइन  |

- रुपनारायण सिंह , ' भ्रमर ' उपन्यासबाट

स्त्रीहरुको स्वाभावै यस्तो हुन्छ , दुर्लभ पदार्थ पाउनालाई ती प्राण समेत अर्पण गरिदिन्छन् , तर उही पदार्थ अघिल्तिर आएर उभिदिदा द्विविदा गर्न थाल्छन्  | मिथ्या अभिमान र भ्रममा भविष्यको सुख र शान्ति नाश पार्छन्|

- रुपनारायण सिंह , ' भ्रमर ' उपन्यासबाट


'संसारिक जीवनको सौन्दर्य
सक्रियता ,सेवा ,संयम र धैर्य '

-सरण राईको अप्रकाशित कविताबाट
* * *

आज मन पर्यो : १३

उपहारमा प्राप्त सबै पुस्तकहरू भरसक म पढ्ने कासिस गर्छु र पढ्छु । ‘सम्झनाको आलिङ्गनमा बाँधिएर’, ‘बेकर स्ट्रिटका दुई आँखा’, ‘चुनौती’, ‘देश दुखेको छ’ लगायत मुलुकबाहिर बसेर लेखिएका थुप्रै पुस्तकहरू उपहारमा पाएको छु र पढेको छु । ती पुस्तकहरूमध्ये आज मलाई मन परेका कुराहरू..
...आरम्भमा उच्च शिक्षा आर्जन गर्न विदेश गएका सीमित शिक्षित एवं बौद्धिक स्रष्टाहरूद्वारा लेख्न थालिएको यो (यात्रासंस्मरण) विधालाई समयान्तरसँगै रोजगारीका निम्ति विदेसिन बाध्य भएका स्रष्टाहरूले हुर्काउँदै–बढाउँदै लगेको पाइन्छ । यसरी विदेसिन बाध्य पारिएको सबभन्दा जेठो जातिको समाज हो — गोर्खाली अर्थात् तिरस्कृत शब्दोपनाम –लाहुरे । सन् १८१४–१६ नेपाल अङ्ग्रेज युद्धपश्चात यी लडाकु जातिको पुर्खौली शत्रु हुनुपथ्र्याे बेलायत ।  तर  विडम्बना उल्टो भइदियो, राज्यले निहित स्वार्थपूर्तिका निम्ति तिनै शत्रुका पोल्टामा फ्याँकिदियो यी जातिलाई । त्यही दिनदेखि अहिलेसम्म यी जाति अर्काको बन्दुक समातेर अर्काकै शत्रुसँग लडिरहेका छन् र मरिरहेका छन् । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, मलाया, फकल्यान्ड, कोसोभो, इराक र अफगानिस्तानसम्मका नायक यिनै जाति हुन् । पहिलो र दोस्रो विश्वयुद्धपछि विश्वमा साहित्यले नयाँ मोड लिएको पाइन्छ । तर त्यसको असर नेपाली साहित्यमा किन भएन त ? ती युद्धका नायकहरू वीर मात्रै थिए, त्यसैले तिनले लडेका युद्धहरूको ‘स’सम्म पनि लेखिएन नेपाली साहित्यमा । यसले के बताउँछ भने इतिहास जसले निर्माण गर्छ, उसैद्वारा लेखिनु पर्दछ । खोइ हामीले लडेका इतिकास र युद्धसाहित्यहरू ?
—रक्ष राई (सम्झनाको आलिङ्गनमा बाँधिएर, भूमिका )

...नेपालीहरूले चौरासी ब्यञ्जन भन्छन्, तर जापानीहरूको परिकार दोब्बर हुँदो रहेछ ।...चिनियाँ, कोरियनहरू कुकुर मांसभंक्षी हुन्  भन्ने हामी सबैले देखे–सुनेका  छौँ । ....मङ्गोलियन अनुहार भए पनि नेपालीहरूले जस्तै जापानीहरूले  कुकुर भने खाँदैनन् । उनीहरूले नेपालीले खाने अति स्वादिष्ट खसीको मासु र परेवाको मासु पनि खाँदैनन् । खसी र कुकुर के कारणले नखाएका हुन् कुन्नि ? परेवा चाहीँ शान्तिको प्रतीक भनेर नखाँदा रहेछन् ।
....खाने प्रसङ्गमै, खाना खानुभन्दा अघि इतादाकीमास भनेर अनुमति माग्ने प्रचलन छ । कुनै पार्टी जलपान समारोहमा पेयपदार्थ पिउनुभन्दा पहिला कम्पाई भन्ने प्रचलन छ । खाइपिइसकेपछि गोचीसोसमा देस्ता भन्नेपर्छ । यदि ठुलाबडाहरूको छेउमा यी प्रक्रियाहरू अपनाइएन भने जापानीहरूले असभ्य सोच्ने गर्छन् । उनीहरू तालिमप्राप्त सैनिकझैँ  अनुशासित हुन्छन् । खाँदामात्रै हैन घरबाट बाहिर निस्किँदा ‘इत्तेकिमास(जाँदैछु)’; फर्किएर आएपछि ‘तदाइमा (घर आइपुगेँ)’ भन्ने प्रचलन छ भने घरमै बस्ने व्यक्तिले उनलाई ‘इत्ते¥यास्याई ओक्यायुकेत्ते कुदासाई (जानुहोला, आफ्नो ज्यानको ख्याल गर्नु)’, ‘ओकोयारीनसाई (हाम्रो घरमा स्वागत छ)’  भन्नैपर्छ । बिहानै उठेपछि आफूभन्दा ठूला व्यक्तिहरूलाई ‘ओहायु गोजाईमास’ भनेर घनुष्टङ्कार अभिवादन टक्र्याउनु पर्छ । यसैगरी दिउँसो र बेलुकी क्रमशः कोचिवा र कोङबाङवा भनेर अभिवादन टक्र्याउनु पर्छ ।
...‘चिन्ता नगर, निको हुन्छस् । सबै बिर्सेर आज मनोरञ्जन गर ।’ सँगै एउटै परिवार भएर बसेपछि पशुको पनि माया लाग्छ भन्ने भनाइले मलाई च्वास्स छोयो । सबैभन्दा पहिला उसलाई उचालेर फाल्ने मै बहादुर हुँ । तर आज एउटा अभिभावकको भूमिका निर्वाह गरेर गम्भीर चिन्ता झल्किएको छ सुइरे बूढा(यमामोतो)को अनुहारमा ।
—दयाकृष्ण राई : सम्झनाको आलिङ्गनमा बाँधिएर,नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत, २०६६
* * *

आज मलाई मन प¥यो – ३
सुकरात र  ऐना

सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आफूसित सधैं राख्थे  र बारम्बार ऐनामा आफ्नो अनुहार  हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म  सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार  गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’
डा। गोपालप्रसाद ‘वंशी’

अनुवादक– सरण राई, ९नवनीत,वर्ष ३७, अङ्क ५,मई, १९८८ बाट०
* * *


आज मलाई मन प¥यो — १४
    सरण राई
आजसम्मको साहित्य सामन्ती संस्कारलाई टेवा पुराउने किसिमको रहेको छ । पीडकले लेखेको साहित्य नभएकोले उडन्ते काल्पनिक साहित्यले पीडकहरूको ब्यथा समेट्नै सकेको छैन । पीडकहरूले पनि लेख्न थालेका वास्तविक भोगाइको साहित्यले मन छुन्छ र त्यही नै शाश्वत साहित्य हो । त्यस्तै आफैले भोगेको पीडा पोखिएको किताब हो  शान्ता चौधरीको ‘कमलरीदेखि सभासद्सम्म’ । त्यस पुसतकका केही उद्धरणहरू...
....अहिलेको मुख्य समस्या भनेकै पीडा एउटासँग र नेतृत्व अर्कोसँग हुनु हो । त्यसैले पीडितहरू नेतृत्व तहमा पुग्ने अवस्था सिर्जना नभएसम्म समस्या ज्युँका त्युँ रहनेमा शङ्का छैन, पीडितहरू नेतृत्वमा आएपछि मात्र सही रोगको सही उपचार सम्भव हुन्छ ।
...प्हिलेपहिले म गरिबहरू किन राजनीतिमा आउन्नन् ? उनीहरू राजनीतिमा आए पो आफ्ना समस्या समाधानका लागि पहल गर्न सक्छन् भन्ने ठान्थे । तर अहिले बुझ्न थालेकी छु कि राजनीति गरिबको लागि सहज रहेनछ । राजनीति सम्पन्न वर्गले गर्ने पेशा रहेछ । यही गरिब नेतृत्वमा आउन नसक्ने प्रक्रियाकै कारण ऊ जहिले पनि राजनीति, अवसर र पँहुचबाट टाडिएको रहेछ ।
... म शोषणको, उत्पीडनको विरुद्ध सङ्घर्ष छेड्न चाहन्थे, मेरा धेरै सहकर्मी पनि आफूहरूले सङ्घर्ष नै गरिरहेको बताउँथे । तर मेरो हेराइमा त्यो सङ्घर्ष फरक थियो– त्यो आफैमात्र खुसी हुनका लागि थियो । अधिकार आफ्नै नियन्त्रणमा राखिराख्नका लागि थियो । शोषण गरिरहन पाऊँ भन्नेमा केन्द्रीत थियो । मैले भने त्यसलाई स्वीकार गर्ने वा सहने कुरै थिएन, किनकि म यिनै सोच राख्नेहरूविरुद्ध सङ्घर्ष गर्ने कसम खाएर आएकी थिएँ । (पृष्ठ१६२,१६३,१६४)
शान्ता चौधरीःे ‘कमलरीदेखि सभासद्सम्म’
* * *

आज मलाई मन प¥यो — १५

लघु कथा
हार
सरण राई

त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु प¥यो, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु प¥यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हासो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल , कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग थियो । भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो ।
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ — विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ ।  अन्तिममा पनि उसैले जित्यो !

२०७०चैत १२, बुधबार, धरान
* * *

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
    तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

    ReplyDelete