Wednesday, February 10, 2021

(लघुसंस्मरण) कालकाेठरी

 

(लघुसंस्मरण)
कालकाेठरी
 
सरण राई
 
२०७७ माघ २५ गते बेलबारीकाे किरात राई यायाेक्खा साकेला थानमा ९४वर्षिय आमा शिवमाया राईले पिताकाे सम्झनामा फलैचा निर्माण गर्ने इच्छा पिताकाे मृत्यु भएकाे २०वर्षपछि व्यक्त गर्नुभएकाेले छाेराहरूसँग मिलेर फलैचा बनायाैँ । फलैचा तयार भएपछि २०७७माघ २५गते आइतबार पिता "मछिन्द्रबहादुर राई स्मृति सभा तथा किरात राई यायाेक्खा पुस्तकालय साहित्यिक भेटघाट" आयाेजना हुँदा साे सभामा पूर्व सांसद हर्कमान तामाङले मैले वाचन गरेकाे "नवयुग" असार २०७३मा प्रकाशित पिताकाे जिवनी सुनिसके पछि मैले पिताकाे बारेमा अझै लेख्नुपर्ने कुरा मन्तव्यमा जाहेर गर्नु भयाे । लेख्न त लेखाैला तर पढ्ने कसले ? तापनि पिताले जीवित हुँदा सुनाउनु भएकाे कालकाेठरी प्रकरण भने मैले भुल्न सकेकाे छैन । साे प्रकरण लघुरूपमा प्रस्तुत गरिरहेकाे छु ।
पिता मछिन्द्रबहादुर राई २००७सालको क्रान्तिमा जनमुक्ति सेनामा संलग्न रहि सक्रिय हुनु भयो । सो जनमुक्ति सेना जोगवनीदेखि नै क्रान्तिमा राणा सेनासँग लड्दै नारदमुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा धनकुटा, भोजपुर र ओखलढुङ्गा कब्जा गर्दै काठमाडौं पुग्यो । त्यस अवधिमा उहाँले पनि सेनामा रही तालिम प्राप्त गरेकोले मुक्ति सेनाको कमाण्डको जिम्मेवारी वहन गर्नु भयो ।
२००७सालको क्रान्ति सफल भएपछि त्यहि जनमुक्ति सेनालाई तीनवटा बटालियनको २१०० जवान रहेको पहिलो जनताको सेनाको रूपमा ‘रक्षा दल’ सेनामा रूपान्तरण गरियो । सो सेना सिंहदरबारभित्र राखिएको थियो । सो सेनाको दोस्रो बटालियनमा पहिलादेखि काम गरेको पद प.हे.मा उहाँ कार्यरत रहनु भयो । नेपालको इतिहासमा त्यो नै बिजेता जनताको पहिलो सेना थियो । ‘दिल्ली सम्झौता धोका हो र क्रान्ति अधुरो छ ’ भन्दै पश्चिममा डा. के. आई. सिंहले क्रान्ति जारी राखेका थिए । ‘रक्षा दल’का केही जवानहरू गई गोरखाबाट डा. के. आई. सिंहलाई पक्राउ गरी ल्याई सिंहदरबार कम्पाउन्डभित्र राखेका थिए । त्यसै बेला भोजपुरका २००७सालका क्रान्तिवीर रामप्रसाद राईलाई भूगोलपार्कमा भाषण गरिरहेको बेला पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो । रामप्रसाद राई र डा. के. आई. सिंहको विचारले ‘रक्षा दल’का जवानहरूलाई प्रभाव पार्न थालेको थियो र दिल्ली सम्झौता रद्द गरी पूर्ण प्रजातन्त्रको घोषणा, क्रान्तिमा सहिद भएकाहरूको नामावली तयार गरि तिनीहरूको परिवारलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने, ‘रक्षा दल’का जवानहरूका तलबबृद्धिजस्ता नौसुत्रिय मागहरू राजा त्रिभुवनसमक्ष ‘रक्षा दल’का जवानहरूले पेश गरे । सो माग पूरा नभएपछि ‘रक्षा दल’का जवानहरूले २००८साल माघ ९ गते माग पूरा गराउनका लागि सैनिक बिद्रोह थालनी गरे ।
नेपालको सैनिक इतिहासमा त्यो नै पहिलो सैनिक बिद्रोह पनि थियो । सो सैनिक बिद्रोहको नेतृत्व मछिन्द्र बहादुर राई, नरबहादुर राई र केही अफिसरहरूले गरेका थिए । माघ ९ गतेदेखि १४ गतेसम्म सिंहदरबार ‘रक्षा दल’को कब्जामा रह्यो । त्यसै अवधिमा रामप्रसाद राई र डा. के. आई. सिंहलाई ‘रक्षा दल’ले जेलमुक्त गरेर नेतृत्व गर्न अनुरोध ग¥यो तर उनीहरू त्यो बिद्रोहको नेतृत्व गर्नुको सट्टा तिब्बततर्फ भागेर गए ।
गाथगादि ताकेको र सैनिक बिद्रोह गरेको अभियोगमा मछिन्द्र बहादुर राई, नरबहादुर राई र ‘रक्षा दल’का २०० जवानहरू पक्राउ परे । उनीहरूलाई राजा त्रिभुवनको राज्यकालभरि वा आजीवन कारावासको सजाय तोकियो । षडयन्त्रमुलक ढङ्गमा ‘रक्षा दल’ सेना पनि बिघटन गरियो । यसरी पहिलो पल्ट गठन भएको जनताको सेनाको अन्त्य गरियो । यसरी जनताको सेनाको अन्त्य गरिए पछि जनता कमजोर भए र जननिर्वाचित सरकार र संसदलाई राजा महेन्दले २०१७ सालमा सजिलै भङ्ग गर्न सके ।
२०१०सालमा मछिन्द्र बहादुर राई लगायत ५९जनाले जेलमुक्तिका लागि २८दिनसम्म आमरण अनसन गरे तर बालचन्द्र शर्मा लगायतका व्यक्तिहरूका षडयन्त्रले सो अनसन बिफल भयो ।
आमरण अनसन बिफल भए पछि मछिन्द्रबहादुर राईलाई कालकाेठरीमा राखियाे । उहाँले बताउनु भएअनुसार भद्रगाेल जेलभित्र रहेकाे कालकाेठरी कैदिलाई मार्नकै लागि बनाईएकाे हाे र त्यहाँ कैदिलाई मर्नकै लागि राखिन्छ। कैदि त्यहाँकाे असुबिधा अँध्याराे, चिसाे र एक्लाे बसिरहनुले र नैराश्यले नै मर्दछ । कालकाेठरीमा राखिएकाे कैदिकाे हात खुट्टामा हतकडि नेल बाँधेर साे नेलमा गरुङ्गाे फलामकाे गाेला झुन्डाइएकाे हुन्छ । कैदिले यताउता सर्दा साे फलामकाे गाेला हातले उठाएर सर्नुपर्ने हुन्छ । कालकाेठरीमा कतैबाट प्रकाश आउदैन । कसैलाई पनि कालकाेठरीकाे कैदिसित भेट गर्न दिईदैन । अँध्याराे चिसाे फाेहाेर काेठा हुनुका साथै हाेचाे भएकाेले कैदि उभिन पनि नसक्ने हुन्छ । झ्याल हुँदैन । ढाेका खाेलेर कैदिलाई हुलाईसकेपछि त्याे ढाेका बन्द रहन्छ । दिनमा एक पटक खाना दिनका लागि थाल मात्र छिर्ने एउटा सानाे खिड्की हुन्छ । प्रकाश भन्ने त्याे खिड्कि खुल्दा मात्र एक क्षण कैदिले देख्न सक्छ । काल काेठरीमा हुलेपछि उहाँले पनि बाँच्ने आशा त्याग्नु भएकाे थियाे रे ।
तर उहाँकाे भाग्यले उच्च पदस्थ सेनाकाे जरनेल जेल निरीक्षण गर्दैगर्दै कालकाेठरीभित्र पनि पसेछन् । जरनेल जब बुबाकाे नजिक आए , बुबाले हतकडि नेलले बाँधिएकाे दुवै हातले जरनेलकाे दुवै खुट्टा च्याप्पै समाउनु भयाे रे । जरनेलले "छाेड्" भन्दै खुट्टा फुत्काउने अनेक बल गरे । तर फुत्काउन सकेनन् । सिपाही आएर जाेड जाेडले "छाेड् ! छाेड्!" भन्दै लात्तैलात्ताले हिर्काकाे हिर्काकै गर्दा पनि उहाँले छाेड्नु भएन । हथकडि र नेलले गर्दा झन् कसिलाे गरि पक्री रहनुभयाे रे । खुट्टा फुत्काउन नसकेपछि आतेस भएर जरनेलले साेधे " के चाहान्छस् ?"
" याे कालकाेठरीबाट बाहिर निस्कन पाउँ।"
जरनेलले उकुसमुकुस कालकाेठरीबाट निकाल्ने आदेश दिए रे ।
यसरी कालकाेठरीबाट छुटकारा पाएर बुबाकाे ज्यान बाँचेकाे थियाे ।
काल काेठरीबाट मुक्त भएपछि फेरि २०११सालमा पिता मछिन्द्र बहादुर राई लगायत ४१जनाले जेलमुक्तिका लागि फेरि २९दिनसम्म पुनः आमरण अनसन गरे । सम्पूर्ण सजाय माफ भयो र उहाँहरू जेलमुक्त हुनुभयाे ।
🌺
२०७७ माघ २८
🌺

🌺

No comments:

Post a Comment