Sunday, September 25, 2016

आज मलाई मन पर्यो -२३

(जीवनी)
मछिन्द्र बहादुर राई
भोजपुरका पहिलो कम्युनिष्ट

 सरणकुमार राई


मानिसको जीवन युगअनुसार हुन्छ । कुन युगमा मानिस जन्मेको हो त्यस युगको अवस्था अनुसार नै मानिसहरूको जीवन निर्वाह, लालनपालन, मानसिक अवस्था र क्रियाकलापहरू हुने गर्दछ । धेरै मानिसहरू युगको अवस्था अनुसारको चलन, प्रथा, अवस्था र संस्कृतिमा आस्रित र निर्लिप्त भएर त्यसैमा आत्म समर्पण गरेर कुनै नयाँ सोचको थालनी गर्ने कुरा सम्म कल्पना नगरी मर्छन् भने कोही मानिसहरू युगको अग्रगमनका लागि आपूmले सक्ने योगदान गर्नु पर्छ भन्ने भावनाकासाथ सक्रिय रहन्छन् । आजसम्मका मानव सभ्यताको विकास दोस्रो खाले मानिसहरूको प्रयत्नबाट सम्भव भएको हो । १९८१ साल असार १६ गते शनिबार भोजपुर (माझकिरात)को छिनामखुमा पिता कुलमर्दन राई र माता कृष्णकुमारी राईको पहिलो सन्तान सुपुत्रको रूपमा जन्मनु भएका मछिन्द्र बहादुर राई पनि दोस्रो खाले मानिसहरूभित्र पर्नु हुन्छ । प्रतिकूल समय, परिस्थिति र अवस्थाको दास भएर बस्नुभन्दा असल समाज, युग र व्यवस्थाका लागि आपूmले सक्ने योगदान गर्नुपर्छ  भन्ने व्यक्तिहरूकै पंक्तिमा उहाँ पनि उभिनुभएको थियो ।
मछिन्द्र बहादुर राईको जन्म आधुनिक विश्वबाट अलगथलग रहेको एक्लो अँध्यारो राणा शासण कालमा भएको हुँनाले उहाँको बाल्यकाल सामान्य नै रह्यो । शिक्षा, स्वास्थ, सञ्चार र यातायात आदिको कुनै प्रकारको सुबिधा नभएको त्यो बेलाको अँध्यारो युगमा जन्मेका बालकहरू जस्तै उहाँ पनि हुर्कनु भयो । शिक्षा प्राप्त गर्नु  बालकहरूको अधिकार हो भन्ने कुरा त्यति बेला कसैलाई थाहा थिएन । मानिस पशुसरहको जीवन गुजारी रहेका थिए । स्वास्थ सुबिधा त थिएन नै यातायात र सञ्चारको पनि कुनै प्रकारको साधन थिएन । जनसंख्या कम भएकोले आजजस्तो वातावरण प्रदुसित थिएन । तापनि सबै जन्मेका बालबालिकाहरू बाँच्छन् नै भन्ने  थिएन । बाल मृत्यु दर उच्च थियो । मछिन्द्र बहादुर राईकै पनि जम्मा जन्मेका ११जना भाईबहिनीहरूमध्ये दुई जना बहिनीहरू मात्र बाँचेका थिए । बाँच्नेहरूमा सबैभन्दा जेठो उहाँ  र ९जना भाईबहिनीहरू मरेपछि जन्मेका कमला राई (ठूली कान्छी) र नरदेवी राई (कान्छी) तीन जना मात्र हुनुहुन्थ्यो ।
त्यति बेलाको चलनअनुसार मछिन्द्रबहादुर राईको विवाह दिल्पा, खोङटाङ निवासी  दिलबहादुर राईकी १३ वर्षिय काइली छोरी शिवमाया राईसँग सम्पन्न भयो । विवाह पश्च्यात उनीहरूले  पारिवारीक अफ्ठ्यारा सजिलाहरूका बारे बुझ्ने अवस्थामा पुग्न नपाउदै दोस्रो विश्व युद्धको हल्ला छिनामखुमा पनि आइ पुग्यो ।  दोस्रो विश्व युद्धको प्रारम्भसँगै मुलुकभरका युवाहरू ब्रिटिश सेनामा भर्ती हुनुपर्ने सरकारी उर्दीका कारण मछिन्द्रबहादुर राई (पहिलाको नाम  तिलकबिक्रम राई ) ब्रिटिश सेनामा हुनु भर्ती हुनु भयो । उहाँको ब्रिटिश सेना नं ९०४८२ थियो र सन १९४१डिसेम्बर २५ देखि १९४७सम्म कार्यरत रहि स्वेच्छाले राजिनामा दिई देशसेवाका लागि स्वदेश फर्किनु भयो । राम्रो दिमाग भएकै कारण ब्रिटिश सेनामा रहँदा उहाँले रोमन गोर्खाली र नेपाली पढन लेख्न सिक्नु भयो । पल्टनमा रहँदा पनि उहाँ स्वाभिमानी र निडर हुनुहुन्थ्यो । उहाँले नै सुनाउनु भएको पल्टनको एक घटनाले पनि सो कुरा पुष्टि गर्दछ ।  उहाँले भन्नु भए अनुसार पल्टनको भान्सा घरमा ठूलो भड्डुमा दाल उम्लिरहेको थियो । त्यहाँ तेलमा ढडाइएका खोर्सानीका ढिडीहरू तैरिरहेका थिए । भान्सेसँग  उहाँले आफ्नो खाना थापेपछि एउटा माग्नु भयो । भान्सेले वास्ता गरेन । फेरि भन्दा दुईजना बीच भनाभन भयो । रिसले चुर भएर उहाँले भान्सेलाई जुरुक्क उचालेर त्यही  दाल उम्लिरहेको भड्डुमा हाल्दिनु भयो । हत्तपत्त एम्बुलेन्स ल्याएर भान्सेलाई अस्पताल लगियो । युद्धकाल भएकोले उहाँलाई पनि कुनै कारवाहि गरिएन । पल्टनमा भएका यस्ता घटनाहरूबाट उहाँको झडङ्ग रिसाउने बानी देखिन्छ । झडङ्ग रिसाए पनि त्यस्तो रिस एकै क्षण मात्र हुने गर्दथ्यो । तर त्यसरी उहाँको झडङ्ग रिसाउने बानीले गर्दा उहाँका कैयो साथीभाईहरू शत्रु पनि बनेका थिए ।
विश्व युद्ध समाप्त भएपछि ब्रिटिश सेनामा रहेका जवानहरूलाई सेनामा काम गर्ने वा स्वेच्छाले सेना छाडने विकल्प दिइएको थियो । तीन चार वर्ष विश्व युद्धको दौरानमा बर्माको जङ्गल जङ्गल र मैदानमा पाएको कष्ट सम्झेर साथै स्वदेश र परिवारको मायाले नाम काटि उहाँ स्वदेश फर्किनु भयो । स्वदेश फर्किएपछि २००७सालको क्रान्तिमा जनमुक्ति सेनामा संलग्न रहि सक्रिय हुनु भयो । सो जनमुक्ति सेना जोगवनीदेखि नै क्रान्तिमा राणा सेनासँग लड्दै नारदमुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा धनकुटा, भोजपुर र ओखलढुङ्गा कब्जा गर्दै काठमाडौं पुग्यो । त्यस अवधिमा उहाँले पनि सेनामा रही तालिम प्राप्त गरेकोले मुक्ति सेनाको कमाण्डको जिम्मेवारी वहन गर्नु भयो । २००७सालको क्रान्ति सफल भएपछि त्यहि जनमुक्ति सेनालाई तीनवटा बटालियनको २१०० जवान रहेको पहिलो जनताको सेनाको रूपमा ‘रक्षा दल’ सेनामा रूपान्तरण गरियो । सो सेना सिंहदरबारभित्र राखिएको थियो । सो सेनाको दोस्रो बटालियनमा  पहिलादेखि काम गरेको पद प.हे.मा उहाँ कार्यरत रहनु भयो । नेपालको इतिहासमा त्यो नै बिजेता जनताको पहिलो  सेना थियो । ‘दिल्ली सम्झौता धोका हो र क्रान्ति अधुरो छ ’ भन्दै पश्चिममा डा. के. आई. सिंहले क्रान्ति जारी राखेका थिए । ‘रक्षा दल’का केही जवानहरू गई गोरखाबाट डा. के. आई. सिंहलाई पक्राउ गरी ल्याई सिंहदरबार कम्पाउन्डभित्र राखेका थिए । त्यसै बेला भोजपुरका २००७सालका क्रान्तिवीर रामप्रसाद राईलाई भूगोलपार्कमा भाषण गरिरहेको बेला पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो । रामप्रसाद राई र डा. के. आई. सिंहको विचारले  ‘रक्षा दल’का  जवानहरूलाई प्रभाव पार्न थालेको थियो र दिल्ली सम्झौता रद्द गरी पूर्ण प्रजातन्त्रको घोषणा, क्रान्तिमा सहिद भएकाहरूको नामावली तयार गरि तिनीहरूको परिवारलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने, ‘रक्षा दल’का जवानहरूका तलबबृद्धिजस्ता नौसुत्रिय मागहरू राजा त्रिभुवनसमक्ष ‘रक्षा दल’का जवानहरूले पेश गरे । सो माग पूरा नभएपछि ‘रक्षा दल’का  जवानहरूले २००८साल माघ ९ गते माग पूरा गराउनका लागि सैनिक बिद्रोह थालनी  गरे । नेपालको सैनिक इतिहासमा त्यो नै पहिलो स‘ैनिक बिद्रोह पनि थियो । सो सैनिक बिद्रोहको नेतृत्व मछिन्द्र बहादुर राई, नरबहादुर राई र केही अफिसरहरूले गरेका थिए । माघ ९ गतेदेखि १४ गतेसम्म  सिंहदरबार ‘रक्षा दल’को कब्जामा रह्यो । त्यसै अवधिमा रामप्रसाद राई र डा. के. आई. सिंहलाई ‘रक्षा दल’ले जेलमुक्त गरेर नेतृत्व गर्न अनुरोध ग¥यो तर उनीहरू त्यो बिद्रोहको नेतृत्व गर्नुको सट्टा तिब्बततर्फ भागेर गए । गाथगादि ताकेको र सैनिक बिद्रोह गरेको अभियोगमा मछिन्द्र बहादुर राई, नरबहादुर राई  र ‘रक्षा दल’का  जवानहरू पक्राउ परे । उनीहरूलाई राजा त्रिभुवनको राज्यकालभरि वा आजीवन कारावासको सजाय तोकियो । षडयन्त्रमुलक ढङ्गमा ‘रक्षा दल’ सेना पनि बिघटन गरियो । यसरी पहिलो पल्ट गठन भएको जनताको सेनाको अन्त्य गरियो । यसरी जनताको सेनाको अन्त्य गरिए पछि जनता कमजोर भए र जननिर्वाचित सरकार र संसदलाई राजा महेन्दले २०१७ सालमा सजिलै भङ्ग गर्न सके ।
२०१०सालमा मछिन्द्र बहादुर राई लगायत ५९जनाले जेलमुक्तिका लागि २८दिनसम्म आमरण अनसन गरे तर बालचन्द्र शर्मा लगायतका व्यक्तिहरूका षडयन्त्रले सो अनसन बिफल भयो । २०११सालमा मछिन्द्र बहादुर राई लगायत ४१जनाले जेलमुक्तिका लागि फेरि २९दिनसम्म पुनः आमरण अनसन गरे । सम्पूर्ण सजाय माफ भयो र उनीहरू जेलमुक्त भए । यस अवधिमा नेपाल कम्युनिष्ट पार्टिले समर्थन गरेको हुँदा सो पार्टिप्रति मछिन्द्रबहादुर राई आकर्षित भए । मछिन्द्रबहादुर राईले भोजपुर फर्किसकेपछि भोजपुर हटियामा मछिन्द्र बहादुर राई, देवराज शाक्य, हर्कबहादुर श्रेष्ठ र पुर्णलाल ताम्राकार रहेको किसान संगठन गठन गर्नुभयो  र पछि सो संगठन नै जिल्ला कमिटि बन्यो  । यसरी उहाँ भोजपुर जिल्ला कमिटिको पहिलो डि.सि. एस.(डिस्ट्रिक्ट कमिटि सेक््रmेटरी) हुनु भयो । मछिन्द्र बहादुर राई, देवराज शाक्य, हर्कबहादुर श्रेष्ठ र पुर्णलाल ताम्राकारहरू नै भोजपुर जिल्लामा कम्युनिष्ट विचारको विजारोपन गर्ने पहिला व्यक्तिहरू  हुनु हुन्थ्यो । केही समयपछि देवराज राई पनि  भोजपुरको कम्युनिष्ट पार्टिमा थपिनु भयो । २०१३÷१४ सालतिर  रङ्गीन पत्रपत्रिका देख्न पाउनु दुर्लभ कुरा थियो ।  तर हुलाक मार्पmत नै रङ्गीन ‘सोभियत भूमि’ पत्रिका छिनामखु गाउँमा पुग्थ्यो । सो पत्रिकामा सोभियत देशले गरेका प्रगति, अन्तरिक्ष यात्रीहरूका तस्विर, कथा, छोटा कविता र कार्टुनहरू पकाशित भएका हुन्थे । बालक सरणकुमार राईले सोही पत्रिका हेरेर साहित्यमा लाग्ने प्रेरणा पाप्त भएको आफ्नो अन्तरवार्तामा स्वीकारेका छन् । केही समयपछि मदनमणि दिक्षितले ‘समिक्षा’ पत्रिका पनि हुलाक मार्पmत नै छिनामखु गाउँमा पठाइ रहनु भएको थियो । ती पत्रपत्रिकाहरूले  तात्कालिन समाजमा बामपन्थी विचारको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेलेका थिए र २०१५ सालको आम निर्वाचनमा कम्युनिष्टप्रति युवाहरू आकर्षित भएका थिए  । २०१५सालको पहिलो आम निर्वाचनमा मछिन्द्र बहादुर राईले उत्तरी क्षेत्रमा  र हर्कबहादुर श्रेष्ठले मध्य क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टिको उम्मेदवार भएर चुनाव लड्नु भयो । नेपाल कम्युनिष्ट पार्टी आम निर्वाचनमा ७५स्थानमध्ये ४सिटमा  मात्र जित्न सफल भयो  । भोजपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी पराजित भयो । पराजित भए पनि आम जन मानसमा नेपाल कम्युनिष्ट पाटीको प्रभाव विस्तार भइरहेको थियो र कार्यकर्ताहरूको मनोबल खस्केको थिएन ।
मछिन्द्र बहादुर राई राजनैतिक रूपमा मात्र नभएर सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनु हुन्थ्यो । २०१३ सालमा राजा महेन्द्रको पूर्वाञ्चल भ्रमण हुँदा उहाँ र देवराज राईको सक्रियताले छिनामखु गाउँको स्कुल श्री त्रिभुवन धर्मोदय प्रा.वि. लाई नि.मा.वि. बनाउन स्वीकृति  प्राप्त भएको थियो । राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका प्रभावशाली व्यक्तिहरू नरोत्तम राई र मकरबहादुर बान्तावा थिए र उहाँहरूबाट पनि नि.मा.वि. स्वीकृति  प्राप्त गर्नमा सहयोग भएको थियो । साहित्यकार एवं गायक गणेश रसिकका अनुसार त्यतिबेला “  स्कुलको आर्थिक अवस्था नाजुक थियो । त्यसैले दशैं तिहारमा नाच निकालेर घरघर डुलाउदै सहयोग संकलन गर्ने कार्यक्रम तय भयो । देवराज पूmफा, मछिन्द्र दाई, गङ्गा प्रसाद काका(रमिते), मति चन्द्र दाई, कला प्रसाद काका, नारान प्रसाद काका, तेज प्रसाद र खगेन्द्र काका भएर हर्कपाल बाजेको घरमा अभ्यास सुरु ग¥यो । केटी भएर नाच्नेमा म र कृष्ण थियौँ । ढटुवारेमा मछिन्द्र दाई, मति चन्द्र दाई, तेज प्रसाद आदि थिए । त्यसबेलाको गीतको बोल मलाई सम्झना छ—
हेर हेर दाजुभाई हाम्रो स्कूललाई
कसरी सुधारी लाने हो ...।” (गणेश रसिक,संझना आइरहने ती क्षणहरू, छिनामखु, सामयिक संकलन २०५१)
मछिन्द्र बहादुर राई चाड पर्वमा रङ्गरउस गर्न पनि अत्यन्त रुचाउनु हुन्थ्यो । गाउँ धरमा उहाँलाई अगुवाको रूपमा मान्थे र उहाँकै नेतृत्वमा स्कूलका लागि चन्दा उठाउने नाच गानको कार्यक्रमहरू हुने गथ्र्यो । उहाँ नाच्न र गाउन सिपालु हुनुहुन्थ्यो  । उहाँले नाचेको हेर्नेहरू मक्ख परेर भन्ने गर्थे ‘क्या फुर्तीसाथ नाचेको ।’ यस्तो मौका पर्दा साथीसङ्गीहरू माझ रमाइलो गर्नु हुन्थ्यो । हो, पनि जीवन शोक सुर्तामा डुबेर बिताउने कुरा होइन, जीवनको सुसेधन्दा बिर्सेर कोही कोही बेला त रमाइलो र मनोरन्जन पनि गर्नु पर्दछ , उहाँको  जीवन पद्धत्ति थियो । काममा लाग्दा भने उहाँ गोरु व गधाहा झैँ कडा परिश्रम गर्नु हुन्थ्यो । कडा परिश्रम गरेर नै आफ्नो र परिवारको लालनपालन गर्नु भयो । कहिले नचाहिदो बदमासी काम गर्नु भएन । सर्वसाधारण आम मान्छे भएर बाँच्नु भयो, जीवन गुजार्नु भयो ।
२०१८सालमा छिनामखुमा श्री त्रिभुवन धर्मोदय नि.मा.वि.भवन जिल्लाको बजेटबाट प्राप्त भएको १३,५००।–रकम लिइ उहाँले (स्कूलको सेक्रेटरी पनि हुनु भएकोले) किर्तेपाको जग्गा खरिद गरी देवीथानमा नयाँ भवन निर्माण गर्नु भयो । सो भवन निर्माण कार्यमा पिता कुलमर्दन राई र अन्य केही जनाको मात्र सहयोग प्राप्त भएकोले खर्च रकम अपुग हुँदा उहाँले भवन निर्माणका लागि मकरबहादुर कार्कीबाट १२००।–रकम आफ्नै नाममा तमसुक बनाई ब्याजमा ऋण लिनु भयो । भवन निर्माण भईसकेपछि उहाँ मधेस झर्नुभएकोले सो रकम स्कूल र उहाँबाट पनि तिरिएको थिएन । पछि मकरबहादुर कार्कीले उहाँलाई सो रकम असुल उपर गराइ पाऊँ भनि भोजपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नु भयो । वारेसले तारीख गुजारेकोले मुद्दा साहुको पक्षमा एकतर्फी फैसला भयो । उहाँले उक्त रकमको सावा ब्याज तिर्नु भयो ।  हाल स्कूल पनि बाक्टुवामा सरेकोले सो भवन रहेको  स्थान प्रयोजनहीन रहेको छ । मोरङ्गमा झरिसकेपछि पनि बोराबाधको मालजङ्गलको सबै खेतीको लागि कुलो (पैनी) निर्माण गर्दा पनि उहाँलाई मुद्दा लगाई दुःख दिने काम  भएको थियो । सामाजिक कार्यमा संलग्न भए बापत उहाँले पुरस्कार भन्दा बढि जरिवाना नै पाउनु भएका यी उदाहरणहरू हुन् ।
२०१७सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था भङ्ग गरि पार्टिहरू प्रतिबन्धित गरे । त्यसपछि  मछिन्द्र बहादुर राईसँग या त पंचायत व्यवस्था स्वीकारेर पन्च हुनु पर्ने वा राजनीतिबाट पलायन हुनु पर्ने दुईवटा विकल्प थिए । भोजपुरमा  पंचायत व्यवस्था नस्वीकारी बस्न नसकिने वातावरण तयार भयो  । २०१७सालको राजा महेन्द्रको प्रतिगामी कदमलाई स्वागत गरेको भए उहाँले भोजपुर छाडनु पर्ने थिएन । अवसरवादि चरीत्र नभएकै कारण उहाँले आफ्नो आस्था र विचार छाड्नु भएन ।  त्यतिबेलाका कैयौ नेताहरूले झैँ पंचायत नस्वीकारी उहाँ भोजपुर छोडेर  बोराबाध, कसेनी, मोरङ झरेर बस्न थाल्नु भयो ।  मोरङ्ग आई सकेपछि पनि उहाँ बामपन्थी विचारबाट कहिल्यै विचलित हुनु भएन । मोरङ झरेर  जि. जुद्धबहादुर राईले खोलेका बोराबाध झोडामा झोडाजग्गा आवाद गरि खेतीपाती गरेर बस्न थाल्नु भयो । यसरी बस्दा पनि उहाँ सामाजिक कार्यहरूमा सक्रिय रहनु भयो । बोराबाधको वीरेन्द प्रा. वि.को स्थापना र विकासमा उहाँले उल्लेख्य सहयोग गर्नु भयो । त्यति बेलाको समयमा मोरङ्गमा आज भोलि जस्तो बाटाहरू थिएनन् । वर्षामा, खोला नाला बढेर जताततै पानी नै पानी र हिलो हुन्थ्यो भने हिउदमा धुलैधुला, पैदल नहिँडि कही पुगिदैनथ्यो । घोडा देहातमा एउटा प्रमुख साधन थियो । त्यति बेला उहाँ पनि कोही बेला घोडा चढेर हिड्नु हुन्थ्यो । बाटोघाटो बनेपछि घोडालाई साईकलले विस्थापन ग¥यो । मधेस झरेपछि उहाँले पनि साईकल नै चढेर आफ्नो अधिकांश जीवन बिताउनु भयो ।
मछिन्द्र बहादुर राईको पारिवारीक जीवन कडा परिश्रमका साथ सुखसितै बितेको थियो । उहाँको धर्मपत्नी शिवमाया राई पाहुनाहरूलाई राम्रो सत्कार गर्ने, विवेकी र कडा परिश्रम गर्ने हुनुहुन्थ्यो । पहाडमा बस्दा उहाँको घरमा कहिल्यै पाहुना टुटदैनथ्यो । क.तुल्सीलाल अमात्य पनि उहाँको पहाड धरमा पाहुना हुनु भएको थियो । उहाँहरूको पहिलो सन्तानको रूपमा २००४सालमा छोरा सरणकुमार राईको जन्म भयो भने दुई छोरीहरू सुदेशा राई २००८सालमा र बिजयालक्ष्मी राई २०१८सालमा जन्मिएका थिए । यी सबै परिवारका साथ २०२०सालतिर उहाँ मधेस बसाइ सर्नुभयो । मधेस झरिसकेपछि पनि उहाँ बामपन्थी विचारमा नै अढिग रहेर पंचायतको कुनै निकायमा जानु भएन । तर आवश्यकता परेको बेला प्रगतिशील विचारका उम्मेदवारलाई सधैं सघाउनु भयो । मछिन्द्र बहादुर राई मनमोहन अधिकारी लगायतका नेताहरूसँग सम्पर्कमा रहेर २०४६को जनआन्दोलनमा  सक्रिय रहनु भयो । २०४७ देखि२०५०सम्म  मोरङ, क्षेत्र नं. ४को कसेनी इलाका कमिटिको सदस्य हुनु भयो । २०५०सालमा भएको मोरङ जिल्ला अधिवेसनमा उहाँको कामको उच्च मूल्याङ्कन गर्दै उहाँलाई अभिनन्दन गरिएको थियो ।
जीवनको अधिकांश समय साइकल चढेर जीवन बिताउनु भएका मछिन्द्र बहादुर राईलाई पनि ७६ वर्षको उमेरमा मोटर साइकल चढने रहर जागेर आयो । २०५६सालमा छोरासँग गएर ‘हिरो होण्डा स्ट्रीट’ मोटर साइकल किन्नु भयो । त्यो मोटर साइकलमा क्लज थिएन र बिना क्लज नै गियर बदल्न सकिने व्यवस्था थियो । छोराले उहाँलाई मोटर साइकल चलाउन सिकाउन थाले ।  मोटर साइकल सिक्ने क्रममा उहाँ आपैmले चलाएको मोटर साइकल बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठानको खाली चौरमा कम्पाउण्ड वालमा ठोक्किएर दुर्घटना भयो । बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठान (अस्पताल)मा तुरुन्त पु¥याइयो । बि.पी. स्वास्थ बिज्ञान प्रतिस्ठानको सल्लाह बमोजिम सिलगढि लगियो । उपचारकै क्रममा सिलगढि चाङको अस्पतालमा १६दिनका दिन मिति २०५७साल असार ३गते शनिबार उहाँको देहान्त भयो । उहाँको शव धरान ल्याई धरानको वार्ड नं. १९ मुनि जङ्गलमा चिहान बनाइ बिसर्जन गरियो ।  अहिले पनि सो स्थानमा उहाँको चिहान अवस्थित रहेको छ ।
मानव चोला क्षणभङ्गुर छ । सबैले पाउने आयु झन्डै झन्डै उस्तै उस्तै बराबरी जस्तै हुन्छ । कोही राम्रा कामहरू गरेर सधैं सम्झन लायक बन्छन् । सादा जीवन बिताउनु हुने मछिन्द्र बहादुर राई दृढ विचार भएका क्रियाशील र शसक्त राजनैतिक व्यक्ति हुनु हुन्थ्यो । उहाँले नेपालको राजनैतिक विकासमा त्यस बेलाको वातावरण र परिस्थिति अनुरूप उल्लेखनीय योगदान गर्नु भएको थियो । सामाजिक र शैक्षिक विकासमा पनि त्यतिकै योगदान दिनु भएको थियो । आज जुन गणतन्त्रात्मक नेपाल छ उहाँहरूजस्तै सक्रिय र दृढ निश्चयी महानुभावहरूकै कारण प्राप्त भएको हो । उहाँलाई सम्झनेहरू थोरै भए पनि उहाँ सम्झन लायक व्यक्तिहरूकै श्रेणिमा पर्नु हुन्छ ।

२०७३।१।१७, धरान

(सरणकुमार राई त्रि. वि.का पुर्व सह प्राध्यापक, साहित्यकार र मछिन्द्र बहादुर राईका छोरा हुनु हुन्छ ।)
'नवयुग ' मासिक ,वर्ष २६ ,अङ्क ७ , असार २०७३

1 comment:

  1. हेर्नुहोला साहित्यकार तथा पत्रकार दिया चन्दको यो लभर नम्बर वानको भिडियो
    ttp://www.imandarmedia.com/2017/01/lover-number-1_9.html

    ReplyDelete